८ असोज, काठमाडौं । यसअघिका दिनहरूमा संघीय सरकारसँग तिक्त सम्बन्धमा रहने गरेका काठमाडौं मेयर बालेन्द्र शाहका लागि बुधबारको बालुवाटार भेट भने स्मरणीय हुन पुग्यो । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बिहान नौ बजे बालुवाटारस्थित सरकारी निवास पुग्दा बालेनसँग सहकर्मीहरू कुमार बेन र सुनील लम्साल साथैमा थिए ।

मेयर शाहले प्रधानमन्त्रीसँग तीनवटा मुख्य सरोकार राखे ।

एक– जेनजी आन्दोलनकारीका मागहरू सम्बोधन गर्न ढिलाई नहोस् । मेयर शाहले सुशासनको पक्षमा सडकमा उर्लिएको लहरलाई व्यवहारमा देखाउने बेला आएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । त्यसमा कार्कीले उनको र नयाँ पुस्ताको साथ मागेकी छन् ।

दुई– भदौ २३ मा गोली चलाउने र आदेश दिनेमाथि कारबाही माग । बालेनले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकसहित चरम हिंसामा संलग्नमाथि कारबाही नहुँदासम्म यो माग उठिरहने भन्दै आवश्यक कदम चाल्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका छन् ।

तीन– क्याबिनेटमा जेनजी सहभागिता । कार्कीले गठन गरेको मन्त्रिपरिषद्मा तुलनात्मक रुपमा योग्य र निष्ठावान पात्र देखिए पनि नयाँ पुस्ताले आफ्नो प्रतिनिधि नदेखेको भन्दै बालेनले असन्तोष जनाएका छन् । उनले बाँकी पदहरूमा नयाँ पुस्ताबाट छिटो मन्त्री बहाली गर्न समेत आग्रह गरेका छन् ।

यी तीनै मागमा प्रधानमन्त्री कार्की सकारात्मक देखिएकी छिन् । उनले सरकारले संविधान र कानुनसम्मत भएर कदम चाल्ने आश्वासन पनि दिएकी छन् ।

त्यसपछि उनीहरूले पारिवारिक र व्यक्तिगत कुराहरू गरेको बुझियो ।

‘सुशीला आमा भनेर बोलाउनुहुँदो रहेछ उहाँले, पहिले देखि नै भेट हुने गरेको रहेछ,’ सरकारी स्रोतले भन्यो, ‘दुई तहका सरकारको कुरा भन्दा पनि अनौपचारिक कुराहरू नै बढ्ता भए ।’

कुमार बेनका दिवंगत पिता नरसिंह ब्यन्जनकारसँग प्रधानमन्त्री कार्कीको पुरानो चिनाजानी र कुराकानी हुने गरेको थियो । भेटघाटमा पारिवारिक कुराहरू पनि भएको सहभागीहरूले बताए ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com