काठमाडौँ 30
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका नवनियुक्त मन्त्री कुलमान घिसिङसमक्ष मन्त्रालयका सचिव केशवकुमार शर्माले ब्रिफिङ गरेका छन् । सोमबार सचिव शर्माले जेनजी आन्दोलनका कारण भौतिक पूर्वाधारमा भएको व्यापक क्षति, लाइसेन्स सफ्टवेयरमा आएको समस्या र कर्मचारी अभाव लगायतका गम्भीर चुनौतीबारे विस्तृत जानकारी गराएका हुन् ।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा सचिव शर्माले मन्त्री घिसिङलाई मन्त्रालयको सङ्गठनात्मक संरचना, सडक, यातायात व्यवस्था र रेल विभाग लगायतका तीन मुख्य विभागहरू र मातहतका अन्य निकायहरूबारे परिचय गराएका थिए ।
उनले मन्त्रालयले हाल सामना गरिरहेका प्रमुख समस्या र आगामी प्राथमिकताका बारेमा पनि प्रकाश पारेका छन् । उनले बबरमहलस्थित सडक विभागको मुख्य भवन पूर्णरुपमा क्षतिग्रस्त भई कामचलाउका लागि चाकुपाटको मेकानिकल ट्रेनिङ सेन्टरलाई उपयोग गरिएको जानकारी दिए ।
यस्तै भक्तपुर, पोखरा, दाङ, विराटनगर र चलनिकापुर लगायतका जिल्लास्थित सडक कार्यालयका भवन र सवारी साधनहरूमा पनि क्षति पुगेको उनले बताए । सडक विभागमा रहेका मन्त्री, सचिव, डीजी, डीटीजी लगायतका अधिकारीहरू चढ्ने सबै सवारी साधन क्षतिग्रस्त अवस्था रहेको उनले बताए । आन्दोलनमा सयौँ गाडी, मोटरसाइकल, रेकर्ड फाइल र डिजाइनका कागजातहरू जलेर नष्ट भएको शर्माले जानकारी दिए ।
यातायात व्यवस्था विभागको भवन जलेर आधा भाग पूर्ण रुपमा प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ भने बाँकी आधा भाग मर्मत सम्भारपछि मात्र चलाउन सकिने अवस्थामा रहेको उनले बताए ।
उनले लाइसेन्सको सफ्टवेयर क्षतिग्रस्त भएकाे र त्याे सबैभन्दा ठुलो चुनौती हुनसक्ने बताए । शर्माले त्यसलाई पुनः प्राप्त गर्नु चुनौतीपूर्ण हुने समेत बताए । साथै ५ लाखभन्दा बढी इम्बोस्ड नम्बर प्लेटहरू पनि जलेर नष्ट भएको उनले बताए ।
रेल विभागमा भने खासै ठुलो क्षति नभएको र भूमिगत भागमा सामान्य क्षति भएको उनले उल्लेख गरे । यद्यपि, नेपाल रेलवे कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पद रिक्त रहेको र नयाँ सीईओ छनोट प्रक्रिया अघि बढेर पनि रोकिएको अवस्थाका कारण रेलको दैनिक सञ्चालनमा असर पुगेको बताइएको छ।
उनले बाढी पहिरोका कारण चीनसँग जोडिने अरनिको राजमार्गको ११३ किलोमिटर सडक र रसुवागढीको ब्रिज बगाएको जानकारी समेत दिए ।
बीपी राजमार्ग लगायतका अन्य धेरै राजमार्गहरू पनि बाढीबाट क्षतिग्रस्त भएका र धेरै पुलहरू बगाएको शर्माले बताए । मन्त्री घिसिङलाई ब्रिफिङ गर्दै सचिव शर्माले क्षतिग्रस्त कार्यालयहरूको कार्यस्थल तयार गर्ने, चीन जोड्ने अरनिको र रसुवागढी लगायतका सडकहरू सुचारु गर्ने, बगाएका पुलहरूको पुनर्निर्माण गर्ने र लाइसेन्सको डेटा रिट्राइभ गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । दसैँ अगाडि यातायात व्यवस्थापनका लागि व्यवसायीहरूसँग बैठक गरी कार्य योजना बनाइएको पनि उनले जानकारी दिए । सचिव शर्माले जनअपेक्षाअनुसार सेवा प्रवाह र सुशासन कायम गर्न मन्त्रालय अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूले नयाँ मन्त्रीलाई साथ दिने प्रतिबद्धता समेत
प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार

प्रतिक्रिया