काठमाडौं| ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका आगामी वैशाखमा विशेष पर्यटन महोत्सव २०८२ आयोजना गर्ने तयारीमा जुटेको छ। जलवायु परिवर्तनको प्रभावलाई उजागर गर्दै साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिरीजङ्घा पर्यटन महोत्सव विविध कार्यक्रमसहित सम्पन्न गरिने भएको हो।

महोत्सव आयोजक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र मावोको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम तालिका र पुरस्कार राशी सार्वजनिक गरेको छ। महोत्सव अन्तर्गत वैशाख ५ र १३ गते कञ्चनजङ्घा साहसिक पदमार्ग अवलोकन, वैशाख १४ र १५ गते याक तथा चौरी प्रदर्शनी, वैशाख १५ गते हाफ म्याराथन प्रतियोगिता र साँझमा कला, साहित्य तथा संगीत कार्यक्रम समावेश गरिनेछ साथमा माउन्टेन साईकिलिङ र प्याराग्लाईडिङको मज्जा पनि लिन सकिनेछ।

कञ्चनजङ्घा साहसिक हाफ म्याराथन नेपालकै उच्च स्थानमा सञ्चालन हुने प्रमुख प्रतियोगितामध्ये एक हुनेछ। समुद्री सतहबाट झण्डै ४,५०० मिटरको उचाइमा आयोजना हुने यो म्याराथन नयाँ झोरेनी, कस्तुरे डाँडा, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ हुँदै मछेवासम्म हुनेछ। विजेताले २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, उपविजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेले ५८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसैगरी, चौरी प्रदर्शनीमा सर्वोत्कृष्ट चौरीपालकलाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ प्रदान गरिनेछ भने एक जनालाई ८ हजार ५ सय ८६ रुपैयाँ सान्त्वना स्वरुप पुरस्कार दिइनेछ। कञ्चनजङ्घाको उचाइ (८,५८६ मिटर) लाई सम्मान गर्दै पुरस्कार राशी निर्धारण गरिएको आयोजक समितिले जनाएको छ।

सिरीजङ्घा गाउँपालिकाले संघीय सरकारसँगको साझेदारीमा निर्माण गरेको कञ्चनजङ्घा साहसिक पदमार्ग पछिल्लो समय पर्यटकका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। कञ्चनजङ्घा हिमशृंखला अवलोकन गर्न चाहने साहसिक पर्यटकका लागि यो पदमार्ग उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com