काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध मुन्धुमीस्थल मुकुमलुङ (पाथीभरा) मा निर्माण गर्न लागिएको केबलकार खारेजीको माग गर्दै आएको ‘नो केबलकार’ पक्षधरले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका छन्।

मुकुमलुङ ताङ्सेःप् चुम्भो तथा मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा विगत ६ वर्षदेखि निरन्तर आन्दोलन भइरहे पनि राज्य र केबलकार निर्माण कम्पनीले जबर्जस्ती रूपमा आयोजना अघि बढाउन खोजेको आरोप लगाउँदै नयाँ चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।

घोषित कार्यक्रमअनुसार आगामी पौष २२ गतेदेखि ताप्लेजुङका विभिन्न स्थानसहित पूर्वका सबै जिल्लाका गाउँघरमा भेला तथा छलफल आयोजना गरिनेछ। माघ १२ गते ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलामसहित पूर्वका ९ जिल्लामा तथा मेची राजमार्ग र तमोर करिडोरका विभिन्न स्थानमा कोणसभा गरिनेछ। माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा विरोध प्रदर्शन तथा सचेतना कार्यक्रम सञ्चालन हुनेछन्।

यसैगरी माघ १६ गते ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा जनप्रदर्शन तथा कोणसभा, माघ १७ गते मुकुमलुङ संरक्षणका क्रममा ताप्लेजुङमा भएको आन्दोलनमा घाइते भएकाहरूलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ। माघ १८ गते हाक्पारे ९कान्छीथान० देखि मुकुमलुङ माङ्धान स्थलसम्म धागो टाँग्ने कार्यक्रम सम्पन्न गरिनेछ।

त्यसपछि माघ १९ गते मुकुमलुङ क्षेत्रमा विरोध प्रदर्शन र कोणसभा तथा माघ २० गतेदेखि माघ मसान्तसम्म स्थानीय तहमा गठन भएका मुकुमलुङ संरक्षण तथा सहयोग समितिहरूको सुदृढीकरण, विस्तार र सशक्तीकरण गरिनेछ। साथै मुकुमलुङ संरक्षणको मुद्दालाई आसन्न निर्वाचनको प्रमुख एजेन्डा बनाएर जनस्तरसम्म लैजाने कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com