काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माणाधीन केबुलकारको विरोधमा पुनः आन्दोलनको घोषणा गरिएको छ। शुक्रबार फुङलिङमा मुक्कुमलुङ तान्सेप फासिङ चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

विभिन्न राजनीतिक दलसहित २३ संस्थाको सहभागितामा सञ्चालन हुने आन्दोलन आगामी पुस २२ गतेदेखि २०८२ साल माघ २० गतेसम्म चल्नेछ। पाथीभरा केबुलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूका अनुसार पुस २२ गते सबै जिल्लाका गाउँघरमा भेला भई छलफल गरिने कार्यक्रमबाट आन्दोलन सुरु हुनेछ।

घोषित कार्यक्रमअनुसार माघ १२ गते पूर्वका विभिन्न जिल्लामा कोणसभा, माघ १४ गते मेची राजमार्ग र तमोर करिडोरमा विरोध प्रदर्शन, माघ १६ गते फुङलिङमा जनप्रदर्शन तथा कोणसभा आयोजना गरिनेछ। माघ १७ गते आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ।

यसैगरी माघ १८ गते पाथीभरा क्षेत्रको कान्छी थानदेखि पाथीभरा (मुक्कुमलुङ) सम्म धागो टाँग्ने कार्यक्रम, माघ १९ गते पाथीभरा मन्दिर ९मुक्कुमलुङ० मा विरोध प्रदर्शन र माघ २० गते विभिन्न जिल्लाका नगरपालिका, गाउँपालिका तथा वडामा निर्वाचनको एजेन्डा बनाएर अभियान सञ्चालन गरिने जनाइएको छ।

विगत ६ वर्षदेखि निरन्तर रूपमा चल्दै आएको आन्दोलनलाई थप सशक्त बनाउँदै लैजान विभिन्न कार्यक्रम तय गरिएको मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिम्बूले जानकारी दिनुभयो।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com