२५ मंसिर २०८२, बुधबार


काठमाडौं,नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै प्रवद्र्धन गर्दै आएको नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह-२०२५’ सोमबार काठमाडौंमा एक विशेष समारोहबीच सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला रहनुभएको थियो भने सभाध्यक्ष संस्थाका उपाध्यक्ष मिजास तेम्बेले रहनुभएको थियो ।

यस वर्षको ‘प्रतिभा विशिष्ट सम्मान–२०२५’ वरिष्ठ कवि जसराज किरातीलाई र ‘प्रतिभा पुरस्कार-२०२५’ युवा कवि तथा आख्यानकार विजेता चौधरीलाई प्रदान गरिएको थियो । प्रमुख अतिथि काइँलाले सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो । सम्मान तथा पुरस्कारमा नगद एक लाख रुपियाँ, सम्मानपत्र, दोसल्ला र मालासहित समर्पण थैली प्रदान गरिएको थियो ।

‘प्रवासबाट पनि सिर्जनालाई सम्बल दिँदै र प्रतिभालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउँदै नेपाली साहित्यको समृद्धिमा संस्थाले विशिष्ट योगदान दिएको छ’, सम्मानपछि बोल्दै प्रमुख अतिथि काइँलाले भन्नुभयो । उहाँले किरातीलाई भुइँमानिसको पीडा र मुन्दुमीय चेतनालाई साहित्यमा उतार्ने अद्वितीय स्रष्टा तथा चौधरीलाई मधेसी समाजको जीवन–संवेदना र भविष्यको आशा बोकेकी उदीयमान प्रतिभाका रूपमा उच्च मूल्यांकन गर्नुभयो ।

सम्मानित प्रतिभा जसराज किरातीले सम्मान ग्रहणपछि भावुक हुँदै भन्नुभयो, ‘यो सम्मान पाउँदा बढो हर्ष लागेको छ । अझै बाँचेर केही गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।’ यस्तै, पुरस्कृत चौधरीले भन्नुभयो, ‘मैले कल्पना पनि नगरेको पुरस्कार पाउँदा निकै खुसी लागेको छ । यो पुरस्कारले मातृभाषा र मधेशलाई सम्मान गरेको छ ।’

कवि श्रवण मुकारुङले सम्मान तथा पुरस्कार चयन प्रक्रिया पारदर्शी र लोकतान्त्रिक लागेको बताउनुभयो । ‘कहिलेकाहीँ पुरस्कार छनोटमा पनि हिंसा हुने गर्दछ । तर, प्रतिभा प्रतिष्ठानको प्रक्रिया भने निष्पक्ष र अनुकरणीय रहेछ’, उहाँले भन्नुभयो ।

कवि शशी लुमुम्बूले सहजिकरण गरेको कार्यक्रममा पूर्व अध्यक्ष गणेश राईले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने डा. तुलसी गौतमले दुवै प्रतिभाको परिचय प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com