आयोजकले मुन्धुमको ज्ञान, संस्कृति र जीवनदर्शनलाई रंगमञ्चमार्फत अनुभूति गर्न इच्छुक सम्पूर्ण दर्शकलाई नाटक अवलोकन गर्न आग्रह गरेको छ ।
काठमाडौं, साउन १८ – एक थिएटर नेपालको प्रस्तुति तथा निर्देशक अनिल सुब्बाको परिकल्पना र निर्देशनमा मुन्धुममा आधारित नाटक ‘केसामी नाम्सामी’ को मञ्चन सोमबार साउन १८ देखि औपचारिक रूपमा सुरु भएको छ ।
पुस्तौँदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृतिलाई आधुनिक रंगभाषामार्फत प्रस्तुत गरिएको यस नाटकले पहिलो दिनदेखि नै दर्शकको उल्लेखनीय साथ पाएको छ। मञ्चनस्थलमा कला, साहित्य, संस्कृति तथा रंगकर्मप्रति रुचि राख्ने दर्शकहरूको बाक्लो उपस्थितिले नाटकप्रति बढ्दो आकर्षण देखाएको थियो ।

मुन्धुमको मौलिक दर्शनलाई समकालीन रंगभाषासँग जोड्दै तयार गरिएको ‘केसामी नाम्सामी’ ले परम्परा र वर्तमानबीचको सम्बन्ध, प्रकृतिप्रतिको सम्मान, सांस्कृतिक पहिचान, इतिहास र मानवीय संवेदनाका विविध पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। नाटकले दर्शकलाई आफ्नै सभ्यता र सांस्कृतिक विरासतलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर प्रदान गरेको प्रतिक्रिया उपस्थित दर्शकहरूले दिएका छन् ।
नाटकको नाट्य रूपान्तरण यासेली योङ्हाङले गरेका हुन् भने पोस्टर डिजाइन सबिन लिङ्दम लिम्बू ले तयार गरेका हुन् ।

‘केसामी नाम्सामी’ को मञ्चन आगामी भदौ १३ गतेसम्म प्रत्येक दिन बेलुका ५; ३० बजे बुधबार बाहेक जारी रहनेछ । साथै हरेक शनिबार दिउँसो १ ;३० बजे अतिरिक्त मञ्चन पनि गरिने आयोजकले जनाएको छ ।
आयोजकले मुन्धुमको ज्ञान, संस्कृति र जीवनदर्शनलाई रंगमञ्चमार्फत अनुभूति गर्न इच्छुक सम्पूर्ण दर्शकलाई नाटक अवलोकन गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

प्रतिक्रिया