उत्तमका कविताहरूमा पहाड, नदी, जंगल, संस्कृति, पहिचान, प्रेम र मानवीय संवेदनाको गहिरो स्पन्दन सुनिन्छ। उनका कविताहरू कहिले तमोर नदीको अविरल बहावजस्ता लाग्छन्, कहिले सल्लाघारीमा बग्ने बतासको मधुर संगीतझैँ सुनिन्छन्, त कहिले च्याब्रुङको तालमा गाउँले जीवनका रङहरू नाचिरहेका जस्ता अनुभूत हुन्छन्।

२४ -जेठ काठमाडौं । हङकङस्थित नेपाली साहित्यप्रेमीहरूका लागि आगामी असार २१ गते (जुलाई ५ आइतबार) विशेष साहित्यिक उत्सवको रूपमा कवि उत्तम तुम्सा लिम्बुको बहुप्रतीक्षित कविता कन्सर्ट आयोजना हुने भएको छ।

द नेप्लिज एसोसिएसन हङकङको आयोजनामा जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्ट एन्ड बारमा दिउँसो १२ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा हङकङवासी नेपाली समुदाय, साहित्यप्रेमी तथा कविताका पारखीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले हङकङमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई कविताको जीवन्त स्वाद लिन हार्दिक निमन्त्रणा गरेको छ।

धनकुटाको कुरुलेतेनुपामा जन्मिएका कवि उत्तम तुम्सा लिम्बु समकालीन नेपाली कविताका सशक्त र विशिष्ट आवाजका रूपमा परिचित छन्। कवितालाई केवल पुस्तकका पानामा सीमित नराखी प्रस्तुती कलामार्फत मञ्चसम्म पुर्‍याउनुपर्छ भन्ने विश्वास बोकेका उनी नेपाली कविताका सक्रिय र ऊर्जाशील स्रष्टा हुन्। उनको कविता वाचन केवल शब्दको प्रस्तुति होइन, संवेदना, लय, सङ्गीत र जीवनानुभूतिको एक सशक्त कलात्मक अभिव्यक्ति हो।

-कवि उत्तम तुम्सा लिम्बु

उत्तमका कविताहरूमा पहाड, नदी, जंगल, संस्कृति, पहिचान, प्रेम र मानवीय संवेदनाको गहिरो स्पन्दन सुनिन्छ। उनका कविताहरू कहिले तमोर नदीको अविरल बहावजस्ता लाग्छन्, कहिले सल्लाघारीमा बग्ने बतासको मधुर संगीतझैँ सुनिन्छन्, त कहिले च्याब्रुङको तालमा गाउँले जीवनका रङहरू नाचिरहेका जस्ता अनुभूत हुन्छन्। यही विशिष्ट प्रस्तुतिकै कारण उनी कविताका पाठक र श्रोतामाझ समान रूपमा प्रिय छन्।

वि।सं। २०७३ सालमा कविता सङ्ग्रह प्रकाशित गरिसकेका कवि तुम्साले नेपालका विभिन्न सहर र जिल्लाहरूमा पुगेर दर्जनौँ कविता कन्सर्ट प्रस्तुत गरिसकेका छन्। उनी युवा स्रष्टाहरूको साहित्यिक अभियान ‘सम्भव समूह’सँग समेत आबद्ध छन् र नयाँ पुस्तामा कविता तथा साहित्यप्रतिको आकर्षण बढाउन निरन्तर सक्रिय छन्।

उनको सशक्त सिर्जना र प्रभावशाली वाचनकलाको अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा भएको छ। सन् २०१७ मा दक्षिण एसियाली मुलुकहरू सहभागी सार्क साहित्य सम्मेलनमा समेत उनले नेपाली कविताको प्रतिनिधित्व गरिसकेका छन्।

-कवि उत्तम तुम्सा लिम्बु

आयोजक द नेप्लिज एसोसिएसन हङकङका अध्यक्ष प्रदीप थापाका अनुसार यो कार्यक्रम केवल कविता वाचनमा सीमित रहने छैन, बरु नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानप्रतिको आत्मीयता साटासाट गर्ने साझा थलोका रूपमा स्थापित हुनेछ। परदेशमा बसेर पनि मातृभाषा र साहित्यसँग जोडिन चाहने नेपालीहरूका लागि यो अवसर विशेष महत्त्वपूर्ण रहने विश्वास गरिएको छ।

कविता, संवेदना र सर्जनशीलताको उत्सव बन्न लागेको यस कार्यक्रममा सहभागी भई नेपाली कविताको जीवन्त महसुस गर्न सम्पूर्ण हङकङवासी नेपाली समुदायलाई आयोजकले आग्रह गरेको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com