विज्ञप्तिमा फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनमाथि केवलकार निर्माण पक्षलाई सहयोग पुर्याएको आरोप लगाइएको छ।
२४- जेठ काठमाडौं । पाथीभरा–मुक्कुम्लुङ क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाको विरोधमा आन्दोलनरत संघर्ष समितिहरूले फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनले आह्वान गरेको केवलकार पक्षधर कार्यक्रममा सहभागी नहुन जिल्लावासीलाई अपिल गरेका छन्।
केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु र मुक्कुम्लुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिमले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मुक्कुम्लुङ क्षेत्र धार्मिक, सांस्कृतिक तथा मुन्धुमी सम्पदासँग जोडिएको संवेदनशील क्षेत्र भएकाले त्यहाँ निर्माण भइरहेको केवलकार परियोजनाले क्षेत्रको मौलिकता र अस्तित्वमाथि असर पुर्याउने दाबी गरेका छन्।
विज्ञप्तिमा फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनमाथि केवलकार निर्माण पक्षलाई सहयोग पुर्याएको आरोप लगाइएको छ। स्थानीयवासीको शान्तिपूर्ण आन्दोलन जारी रहँदा पनि परियोजनाको निर्माण कार्य अघि बढाउन खोजिएको समितिहरूको भनाइ छ।
संघर्ष समितिहरूका अनुसार मुक्कुम्लुङ आन्दोलनका क्रममा भएका घटनाहरू, दमन तथा मानवअधिकार उल्लङ्घनसम्बन्धी विषयमा नेपाल सरकारबाट खटिएको अनुगमन टोलीले छानबिन गरिरहेको अवस्थामा उक्त प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले नगर क्षेत्रका कर्मचारी, शिक्षक तथा विद्यार्थीलाई केवलकार समर्थनमा आयोजित कार्यक्रममा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ।
विज्ञप्तिमा कार्यक्रममा अनुपस्थित हुनेलाई कारबाही गरिने चेतावनी दिइएको भन्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्तो कार्य सार्वजनिक पदको दुरुपयोग भएको आरोप लगाइएको छ। साथै, सम्बन्धित विषयमा प्रचलित कानुनअनुसार छानबिन र आवश्यक कारबाही हुनुपर्ने माग समेत गरिएको छ।
संघर्ष समितिहरूले कर्मचारी, शिक्षक, विद्यार्थी, नागरिक समाज, बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा आम सर्वसाधारणलाई उक्त कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन्। शिक्षक तथा कर्मचारीहरूले आफ्नो पेशागत जिम्मेवारीलाई ध्यानमा राखी मातहतका कर्मचारी र विद्यार्थीलाई यस्ता गतिविधिमा सहभागी नगराउन पनि अपिल गरिएको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया