माझीगाउँको हल्ला
नदीमा
ताराहरू डुबेका छन् भन्ने
गाउँभरि हल्ला चलेपछि
ऊ सबेरै
बल्छी बोकेर हिँड्यो ।
उसलाई सबभन्दा
ध्रुव ताराप्रति अगाध मोह थियो
कारण
उसको जस्केलीबाट चिहाएर
ध्रुव तारा
उसको ओछ्यानभरि पोखिन्थ्यो
भोकै सुतेको रात होस्
या रक्सी घोकेर सुतेको रात होस्
ध्रुव तारा
उसको निधारमा टप्लक्क बस्थ्यो
र ऊ धपक्कै बल्दथ्यो ।
ऊ
नदीको छातीमा एकाग्र
बल्छी थापिरहेको थियो
परबाट
एक हुल नानीहरू रमाउँदै आए–
माझी दाइ।।।माझी दाइ
हामीले ताराको गुहु भेट्यौँ ।
पालै–पालो सुम्सुम्याएपछि
निष्कर्षमा
सबैले एकै स्वरले भने–
ताराको गुहु ढुङ्गाजस्तै हुँदोरहेछ ।
बल्छी थापिरह्यो
तर कहिल्यै
तारा अल्झिन आएन
बरु, धेरै माछाहरू अल्झिए
र गाउँ भरिकालाई सितन भयो ।
अब त ऊ
ध्रुव तारा झिकीछोड्ने अठोट लिएर
वार पार गर्नेहरूलाई डुङ्गाबाट तार्दा पनि
बल्छी खेल्न छोडेन
नानीहरू किनार उचाल्दै कराउन थाले–
माझी दाइ।।।माझी दाइ
हामीलाई तारा छिटो झिकिदिनुहोस् न ।
वर्षाको याम न थियो
एक रात
ठूलो बाढी आयो
र निष्ठुरी बाढीले
ध्रुव तारा झिक्न अभ्यस्त उसलाई
बगाएर कहाँ।।।कहाँ पुर्यायो
भोलिपल्ट बिहान
सबेरै
गाउँमा अर्को हल्ला चल्यो–
नदीमा
रहरलाग्दो जून पनि डुबेकाछ ।
चार दशक देखि कविताकर्ममा सक्रिय र साधनारत सुप्रसिद्ध कवि (श्रवण मुकारुङ)आफ्ना कविताहरुमा सवाल्टनीय स्वरलाई मुख्य केन्द्रमा राखेर लेख्छन् ।उनका कविताहरुले (भोइस् लेस्)हरुको आवाजलाई सम्बोधन गरेको त हुन्छ नै,तथाकथित माथिल्लो वर्ग भनिएकाहरुलाई पनि खबरदारी र प्रश्न गर्न पछि हट्दैनन् ।
यस मानेमा मुकारुङ विद्रोही र आममान्छेका कवि हुन्….सम्पादक विशाल नाल्बो ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

प्रतिक्रिया