चिया बगानका मालिकलाई आठ दिनको प्रहरी हिरासतपछि बुधबार पुनः खर्साङ अदालतमा उपस्थित गराइएको थियो । अदालतले मालिकको जमानत निवेदन पुनः अस्वीकार गर्दै थप दुई दिन प्रहरी हिरासतमै राख्न आदेश दिएको छ ।
१९ साउन काठमाडौं – लामो संघर्ष,अनशन र कानुनी लडाइँपछि लङभ्यु चिया बगानका श्रमिकहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् । श्रमिकहरूको भविष्यनिधि ज्याला तथा अन्य बक्यौता गरी करिब ५ करोड ९० लाख रुपैयाँ भुक्तानी भएपछि आन्दोलनले महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।
प्राप्त जानकारीअनुसार, श्रमिकहरूको तलबबाट काटिएको भविष्यनिधि बापतको कुल ३ करोड ३२ लाख ४१ हजार ७३६ रुपैयाँ पूर्ण रूपमा सम्बन्धित खातामा जम्मा गरिएको छ। यसअघि सन् २०२५ सम्म करिब १ करोड रुपैयाँ भुक्तानी गरिएको थियो भने पछिल्लो चरणमा बाँकी रकम पनि जम्मा गरिएपछि श्रमिकको योगदान पूर्ण रूपमा सुरक्षित भएको छ । मालिकपक्षले आफ्नो योगदानबापत ३१ लाख रुपैयाँ समेत भुक्तानी गरेको छ ।
त्यसैगरी, श्रमिकहरूको अनशन आन्दोलन चलिरहेका बेला श्रमिकहरूको ज्याला र कर्मचारीहरूको तलब बापत १ करोड २८ लाख रुपैयाँ पनि वितरण गरिएको छ ।
यसैबीच, PF ग्र्याचुइटी हिनामिनासम्बन्धी मुद्दामा पक्राउ परेका चिया बगानका मालिकलाई आठ दिनको प्रहरी हिरासतपछि बुधबार पुनः खर्साङ अदालतमा उपस्थित गराइएको थियो। अदालतले मालिकको जमानत निवेदन पुनः अस्वीकार गर्दै थप दुई दिन प्रहरी हिरासतमै राख्न आदेश दिएको छ ।
उक्त उपलब्धिपछि अनशनस्थलमा श्रमिकहरूले भव्य विजयोत्सव मनाएका छन् । आन्दोलनका अगुवाहरूले आफ्नो मुख्य माग पूरा भएकाले अनशन स्थगित गर्ने घोषणा गर्दै श्रमिक अधिकारका बाँकी सवालमा पनि एकताबद्ध भएर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लङभ्यु चिया बगानको यो सफलता श्रमिक एकता, निरन्तर संघर्ष र कानुनी प्रक्रियामार्फत अधिकार सुनिश्चित गर्न सम्भव भएको एउटा उदाहरणका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

प्रतिक्रिया