२६ फाल्गुन २०८२, मंगलबार


काठमाडौं । निर्माणाधीन नयाँ संसद् भवन समयमै सम्पन्न हुन नसकेपछि प्रतिनिधिसभाका बैठकहरू संसद् परिसरमा रहेको बहुउद्देश्यीय हलमा अस्थायी रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।

प्रतिनिधिसभाको मुख्य सभाकक्ष निर्धारित समयभित्र तयार नहुने देखिएपछि बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको हो।

संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभाको बैठक नयाँ निर्माणाधीन संसद् भवन परिसरमै बस्ने भए पनि मुख्य सभाकक्ष समयमै तयार नहुने सम्भावना देखिएकाले वैकल्पिक व्यवस्था गरिएको हो।

सरकारले प्रतिनिधिसभाका लागि निर्माण गरिरहेको सभाकक्ष चैत १ गतेभित्र सचिवालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो। तर पछिल्लो प्रगति हेर्दा सो मितिभित्र निर्माण सम्पन्न हुने अवस्था नरहेको गिरीले जानकारी दिए।

उनका अनुसार शहरी विकास मन्त्रालय तथा निर्माण व्यवसायीसँग समन्वय गरेर बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी भइरहेको छ। उक्त हलमा सांसदहरूको शपथग्रहण गराउने र प्रतिनिधिसभाका प्रारम्भिक बैठकहरू सञ्चालन गर्ने तयारी गरिएको छ।

गिरीले बहुउद्देश्यीय हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै केही प्राविधिक काम मात्र बाँकी रहेको बताए। ती कामहरू छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको उनले जानकारी दिए।

संसद् सचिवालयले निर्माण कार्यको प्रगतिबारे नियमित रूपमा समन्वय, अनुरोध तथा स्थलगत अनुगमन गरिरहेको पनि उनले बताए।

बैठक कक्षको अभावका कारण प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण वा संसद् बैठक रोकिने अवस्था नआउने उनको भनाइ छ।

यसअघि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित संसद् भवन जनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रयोग गर्न नसकिने अवस्थामा पुगेको थियो।

राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरमै रहेको कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ।

सिंहदरबार परिसरको १५६ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको छ। २०७६ असोज १६ गते तुन्दी–सेक जेभीले ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा ठेक्का लिएको थियो। निर्माण कार्य २०७९ असोज १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

तर २०८२ फागुनसम्म आइपुग्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन। संसद् भवन निर्माणका लागि थपिएको पाँचौँ पटकको म्याद पनि सकिसकेको छ।

संसद् भवनको ‘रुफिङ’ का लागि चेनलिंक इन्जिनियरिङ कम्पनीले २०८० फागुन २७ गते ३ करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको थियो। यस्तै ‘इन्टेरियर’ निर्माणको जिम्मा केसी–श्यामसुन्दर–बानियाँ जेभीलाई २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा दिइएको थियो।

यी सबै ठेक्का सम्झौता अवधि सकिए पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com