काठमाडौं, साउन २४ । लिम्बु पत्रकार संघको उपत्यका विशेष तदर्थ समिति गठन भएको छ। आइतबार किराँत याक्थुङ चुम्लुङको संघीय कार्यालय, ललितपुरमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो। नवगठित समितिको सदस्य सचिवमा प्रकाश लिङ्देन चयन भएका छन्। सदस्यहरूमा विशाल नाल्बो, नुमा थाम्सुहाङ, निर्मल सुब्बा ‘आशिष’, राजेन्द्र केरुङ र पर्सु थलङ रहेका छन्। लिम्बु समुदायका भाषा, संस्कृति, इतिहास, पहिचान तथा समसामयिक सवाललाई पत्रकारितामार्फत सशक्त रूपमा उठाउने उद्देश्यले उपत्यका विशेष तदर्थ समिति गठन गरिएको जनाइएको छ।

रेडियो काबेलीका अध्यक्ष तथा प्रेस सेन्टर नेपालका उपत्यका प्रदेश समितिका अध्यक्ष लोकेश लिबाङ लिम्बुले सञ्चारमाध्यमलाई ठूलो र सानोको आधारमा विभाजन गर्न नहुने बताए। उनले कान्तिपुर वा अनलाइनखबरजस्ता ठूला सञ्चारमाध्यमलाई मात्र प्राथमिकता दिने प्रवृत्तिभन्दा बाहिर निस्केर साना तथा स्थानीय सञ्चारमाध्यमले गरिरहेको कामको पनि मूल्यांकन गर्नुपर्ने धारणा राखे। लिबाङले सञ्चारमाध्यमको प्रभावकारिता केवल ‘भ्युज’ र ‘फलोअर्स’को आधारमा मापन गर्न नहुने बताए। पत्रकारिताको गुणस्तर, विषयवस्तुको गम्भीरता र त्यसले समाजमा पार्ने प्रभावलाई समेत प्रभावकारिताको महत्वपूर्ण आधार मान्नुपर्ने उनको भनाइ थियो।

लिम्बु पत्रकार संघका अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमर तुम्याहाङ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा लिम्बु समुदायका बुद्धिजीवी, लेखक, फिल्मकर्मी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता थियो। करिब चार घण्टा चलेको भेलामा पत्रकारिता र लिम्बु समुदायका समसामयिक सवालबारे छलफल तथा विचार–विमर्श गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुब्बाले लिम्बु पत्रकार संघलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउँदै समुदायको साझा ‘छाता संगठन’का रूपमा विकास गर्ने बताए। उनले लिम्बु समुदायका भाषा, संस्कृति, पहिचान तथा सामाजिक सरोकारका विषयलाई पत्रकारितामार्फत सशक्त रूपमा उठाउन संगठनलाई योजनाबद्ध ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।

समुदायका मुद्दालाई सार्वजनिक बहसमा स्थापित गर्न पत्रकारहरूको सक्रियता, आपसी सहकार्य र व्यावसायिक एकता आवश्यक रहेको उनको भनाइ थियो। वरिष्ठ लिम्बु फिल्म निर्देशक तथा लेखक सागर केरुङले पत्रकारिता केवल सूचना सम्प्रेषणमा सीमित हुन नहुने बताए। उनले पत्रकारहरू ‘झोले’ प्रवृत्तिबाट मुक्त हुँदै पत्रकारितालाई अध्ययन, बौद्धिकता र विचारसँग जोड्नुपर्नेमा जोड दिए। पत्रकारको भूमिका समाजमा प्रश्न उठाउने, बहस सिर्जना गर्ने र तथ्यपूर्ण दृष्टिकोण निर्माण गर्ने हुनुपर्ने केरुङको भनाइ थियो।

कार्यक्रममा उपस्थित वक्ताहरूले लिम्बु समुदायका मुद्दालाई पत्रकारितामार्फत स्थापित गर्न समुदायभित्रका सञ्चारकर्मीबीच सहकार्य, व्यावसायिकता र वैचारिक स्पष्टता आवश्यक रहेकोमा जोड दिएका थिए। उपत्यकामा क्रियाशील लिम्बु पत्रकारहरूलाई संगठित गर्दै भाषा, संस्कृति, पहिचान, सामाजिक सरोकार तथा समसामयिक विषयलाई जिम्मेवार र प्रभावकारी पत्रकारितामार्फत उठाउने समितिको लक्ष्य रहेको जनाइएको छ।

लिम्बु पत्रकारहरूको बाक्लो सहभागितामा सम्पन्न भेलाले आगामी दिनमा समुदायका मुद्दालाई थप प्रभावकारी रूपमा सार्वजनिक बहसमा ल्याउने अपेक्षा गरिएको छ। नवगठित समितिले उपत्यकामा क्रियाशील लिम्बु पत्रकारहरूलाई एकताबद्ध गर्दै पत्रकारिताको माध्यमबाट समुदायका आवाजलाई राष्ट्रिय बहससम्म पुर्‍याउने लक्ष्य लिएको छ।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com