१५ मंसिर,जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । सो घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झाको गत बिहीबार राति मृत फेला परेकी थिइन् ।घरका सदस्यहरुले रोशनीले पासो लगाएर आत्महत्या गरेको जानकारी माइती पक्षलाई दिएका थिए । माइती पक्षले भने घरकै सदस्यहरु मिलेर रोशनीको हत्या गरेको आरोप लगाएको छ।
रोशनीको माइत घर धनुषाको नगराइन नगरपालिका २ जटही हो । उनको चार वर्ष अघि सामाजिक परम्परा अनुसार प्रशान्त मिश्रसँगको बिहे भएको थियो । रोशनीका पति प्रशान्त मधेश प्रदेशको नीति तथा योजना आयोगका कर्मचारी हुन् ।माइती पक्षले हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा रोशनीका पति प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्रविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको छ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले भने माइती पक्षबाट असुरक्षित भएकाले आफूहरुले लिएर गएको बताउँछन् । उनले घटनाबारे अनुसन्धान जारी रहेको बताए । अहिलेसम्म मृतकको घाँटीमा डाम मात्र देखिएको बताउँदै उनले पोस्टमार्टम रिपोर्ट पश्चात मात्र हत्या हो कि आत्महत्या हो भनेर निष्कर्षमा पुगिने बताए ।
रोशनीका मामा प्रदीप चौधरी भने घटनाको प्रकृति हत्या गरेको जस्तो देखिएको बताउँछन् । प्रमाण नष्ट गर्न उनका कपडाहरु पनि जलाइएको बताउँदै उनी भन्छन्, ‘हामीलाई भान्जीको हत्या भएको शंका छ । त्यसैले सत्यतथ्य बाहिर ल्याउनुपर्छ । दोषीहरुलाई कडा कारबाही हुनुपर्छ,’ उनी भन्छन्।
प्रकाशित मिति: १६ मंसिर २०८२, सोमबार

प्रतिक्रिया