२६ असोज २०८२, पाँचथर ।  

हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा वरिष्ठ कलाकार, गीतकार, मुन्धुमका व्याख्याता यासेली योङहाङ रहनेछन्। त्यस्तै लेखक एवम् पूर्वमन्त्री श्रीप्रसाद जबेगु, साहित्यकार राजेन्द्र कुमार जबेगु, नरेन्द्र कुमार केरुङ, पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मी प्रसाद ढुंगाना र मुक्कुम्लुङ साहित्य प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोक तुत्तुतुम्याहाङको रुपमा रहनेछन् ।

कार्यक्रममा दुई कार्यपत्र प्रस्तुत हुनेछन्। हिलिहाङका आख्यानकार मनु योङहाङले हिलिहाङको साहित्यिक इतिहास सम्बन्धी र सागर केरुङले लोक संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नेछन्।

त्यस्तै कार्यक्रममा दश अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन समेत हुनेछ। उदयीमान गायिका, हिलिहाङकी छोरी दीपा सुहाङसँगै दिनेश सुहाङको साँगीतिक प्रस्तुतीले कार्यक्रममा थप रौनक थप्ने आयोजकले जनाएको छ।

कार्यक्रमले साहित्यिक, साँस्कृतिक उत्थानमा टेवा पुर्याउनुका साथै लिम्बुवानमा सबैभन्दा अन्तिम समयसम्म अस्तित्वमा रहेका राजा हिलिहाङको दरबार परिषरको पर्यटन प्रबर्द्धन र हिलिहाङबारे थप खोज–अनुसन्धानमा समेत सहयोग पुग्ने आयोजक समितिका सचिव सुर्य योङहाङले बताए |

प्रकाशित मिति: १ कार्तिक २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com