कविताको कुरा
खुसी छैन आकाश
बस्ती निदाएकै छन्
त्रासमा छ
कतिखेर कहाँ खस्छ विपत्ति
कहाँ बिलाउँछ बस्ती
मृत्यु पर्खिरहेछ राजमार्ग
यस्तो बेला तिमी कविताको कुरा गर्छौ।
सहर बर्षामा निथ्रुक्क छ
गाउँ बगेको खबर छ
अरू त अरू
कतै बस्तीमा नदी पसेको छ
कतै नदीमा बस्ती पसेको छ
मन ओभानो छैन
आँखा ओभानो छैन
यस्तरी मन भाँचिएको बेला तिमी कविताको कुरा गर्छौ ।
वर्षा लाग्यो कि कहिले हिउँद आउला भन्यो
हिउँद लाग्यो कि
जाडो, शित लहरले गर्मी पर्खिबस्यो
गर्मी लाग्यो कि लू ,झाडापखाला र डढेलोको त्रास
साँच्चै त्रासै त्रासले रुन बिर्से जस्तो जिन्दगी
यो वर्षा झन रोइरहन्छ हरदिन
तिमी कविताको कुरा गर्छौ ।
वर्षा र कविता
कविता र वर्षा
दुवै नदी जस्तै बगिरहन्छन्
म किनारमा बसेर भिझिरहिछु
र सायद रोइरहिछु जिन्दगी सम्झेर
तर वर्षामा भिज्नुको फाइदा छ प्रियतम्
रोएको कस्सैले देख्देन
यस्तो बेला तिमी
कविताको कुरा गर्छौ ।
बिषेश गरेर नारीवादी अवधारणालाई आफ्ना कविताहरुमा बडो ध्यानपुर्वक स्थान दिने कवि हुन् मिना श्रेष्ठ,उनका कविताको बिचारिक अङ्ग नारीवादी बिचारधारा हुन् भने प्रेम जीवन अध्यात्म किनारीकृतहरुको आवाज उनको कविताको आत्मा हो ।दशकौं देखि कविता कर्ममा अभ्यस्त उनी कोशी(एक नम्बर प्रदेश)प्रदेशकी सांसद पनि हुन् ।
यसमानेमा उनी जनताको कवि हुन् …सम्पादक विशाल नाल्बो ।
प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

प्रतिक्रिया