मौलिक सभ्यता, संस्कृति र मुन्धुमको जीवनदर्शनलाई आधुनिक रंगभाषामार्फत अनुभूति गराउने यस विशेष नाट्ययात्राले नेपाली रंगमञ्चमा नयाँ बहस र सांस्कृतिक विमर्शको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
साउन १७-काठमाडौं। पुस्तौँदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृतिलाई आधुनिक रंगभाषामार्फत दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यसहित एक थिएटर नेपालले नयाँ नाट्य प्रस्तुति ‘केसामी नाम्सामी’ मञ्चन गर्ने भएको छ।
लिम्बू समुदायको मुन्धुममा आधारित यस नाटकले परम्परा र वर्तमानबीच अर्थपूर्ण संवाद स्थापित गर्दै मौलिक संस्कृति, इतिहास, प्रकृतिसँगको अन्तरसम्बन्ध, मानवीय संवेदना तथा पहिचानका विविध आयामलाई रंगमञ्चमार्फत जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेको निर्देशकको भनाइ छ।

नाटकको परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गरेका छन् भने नाट्य रूपान्तरण यासेली योङ्हाङले गरेका छन्। यसैगरी, नाटकको पोस्टर डिजाइन सबिन लिङ्दम लिम्बूले तयार गरेका हुन्।
एक थिएटर नेपालका अनुसार, यो प्रस्तुति केवल मनोरञ्जनमा सीमित नभई मुन्धुमभित्र निहित दर्शन, सांस्कृतिक चेतना र सभ्यताको गहिरो अनुभूति गराउने प्रयास हो। आधुनिक रंगमञ्चको माध्यमबाट मौलिक ज्ञान परम्परालाई नयाँ पुस्तासमक्ष परिचित गराउँदै यसको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास आयोजकको छ।
नाटक साउन १८ गतेदेखि भदौ १३ गतेसम्म मञ्चन हुनेछ। बुधबार बाहेक हरेक दिन बेलुका ५-३० बजे नियमित प्रदर्शन हुने छ भने प्रत्येक शनिबार दिउँसो १-३० बजे अतिरिक्त प्रदर्शन पनि गरिनेछ।
नाटक हेर्न इच्छुक दर्शकले ९८६१९०५७७८ वा ९८६२०६५१८३ नम्बरमा सम्पर्क गरी अग्रिम बुकिङ गर्न सक्नेछन्।

मौलिक सभ्यता, संस्कृति र मुन्धुमको जीवनदर्शनलाई आधुनिक रंगभाषामार्फत अनुभूति गराउने यस विशेष नाट्ययात्राले नेपाली रंगमञ्चमा नयाँ बहस र सांस्कृतिक विमर्शको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

प्रतिक्रिया