२३ फागुन, । मोरङ क्षेत्र नम्बर-५ बाट आशा झा निर्वाचित भएकी छन् । हिजोसम्म गृहिणी र महिला स्वयंसेविकाको रूपमा काम गरेकी ४२ वर्षीया आशा अब माननीय बनेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेकी आशाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता स्थापित दलका ‘हेभिवेट’ उम्मेदवारहरूलाई पराजित गरिन् ।यो क्षेत्रमा ठूला दलका उम्मेदवारले उनलाई मुख्य प्रतिस्पर्धी नै मानेका थिएनन् । ठूला दलले प्रतिस्पर्धी नमाने पनि उनलाई मतदाताले विश्वास गरेर ३० हजार ४३४ मतसहित निर्वाचित गराए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरे । आशा र फूलकुमारबीचको मतान्तर २१ हजार १९ छ । मोरङ-५ को दाबेदारको रूपमा हेरिएका जनता समाजवादी पार्टी उम्मेदवार राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार शिवकुमार मण्डल केवटले ८ हजार ६१४ मत पाएका छन् । नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत पाएका छन् । २०७९ सालको निर्वाचनमा विजयी भएका योगेन्द्र मण्डलले ४ हजार १९९ मत प्राप्त गरेका छन् ।

भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्य जितेकी आशा यसअघि राजनीतिमा थिइनन् । राजनीति गर्ने रहर पनि थिएन । राजनीतिसँग उनलाई चित्त नै बुझ्दैनथ्यो । समाज बाँच्नुपर्छ भन्ने ठान्थिन् । राजनीति नगर्ने मानसिकता थियो,’ केही समयअघि उनले भनेकी थिइन्, ‘अधिकार माग्न जाँदा बर्बरतापूर्वक गोली ठोकियो, त्यो देखेपछि ज्वाला म भित्र आयो ।’

आशाको पारिवारिक पृष्ठभूमि राजनीतिक रूपमा नेपाली कांग्रेससँग जोडिएको छ । डा. कुलदीप झा २००७ सालको आन्दोलनमा बितेका थिए । शहीद कुलदीप नाताले आशाका हजुरबुबा पर्छन् । उनको परिवार विगतदेखि नै कांग्रेसको राजनीतिमा थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा आशाका श्रीमान् आमोदकुमार झाले विराटनगर महानगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । तर उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सूर्यलाल यादवसँग पराजित भए ।

पेसाले निर्माण व्यवसायी आमोदले वडामा हार बेहोरेको तीन वर्ष नपुग्दै श्रीमती आशाले भने घण्टी चुनाव चिह्न लिएर सिधै सिंहदरबारको यात्रा तय गरिन् ।स्वास्थ्य स्वयंसेविकाको रूपमा लामो समय समुदायमा काम गरेकी उनी विभिन्न सामाजिक अभियानहरूमा सक्रिय रहेको रास्वपा नेता वीरेन्द्र साहले बताए ।

आशाको उम्मेदवारी घोषणा हुँदा रास्वपा भित्रै केही असन्तुष्टिका स्वरहरू सुनिएका थिए । रास्वपाका नेता मनिष झाले आफ्नै परिवारकी सदस्यलाई टिकट दिएको भन्दै ‘नातावाद’ को आरोप समेत लाग्यो । तर ती आलोचना र पार्टी भित्रको आन्तरिक द्वन्द्वलाई चिर्दै आशाले स्थापित दलका पुराना नेतालाई पराजित गरिन् ।संसद्‌मा प्रवेश गर्दै गर्दा आशा झाले बन्द उद्योगको पुन: सञ्चालनको वातावरण बनाउने, युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने र सुशासन कायम गर्ने एजेन्डा अघि सारेकी छिन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com