२५ मंसिर, काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी गरेकी छन् ।आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको हल्ला गलत भएको दाबी गरेकी हुन् ।

उनले लिखित जवाफमा भनेकी छन्, ‘म तथा मेरो पति नेपाली कांग्रेसको सभापति, पूर्व प्रधानमन्त्रीको निवासमा रकम जलेको विभिन्न टेलिभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भन्ने व्यहोरा उल्लेख गरी दोषारोपण गरिएको छ सो जिकिर समेत गलत छ ।’राष्ट्रिय सुरक्षा परिषद्को सदस्य समेत रहेकी आरजु राणा देउवा लगायतले बेलैमा बैठक डाकेर सेना परिचालन नगर्दा जनधनको क्षति भएकाले उनीहरूलाई कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको थियो ।

त्यसैको जवाफ लेख्दै पूर्वपरराष्ट्रमन्त्री राणाले भनेकी छन्, ‘शान्तीपूर्ण आन्दोलनमा उछृङ्खल व्यक्तिहरू हाम्रो निजि निवासमा प्रवेश गरी ममाथि भौतिक आक्रमण गरी मेरो निवास समेत जलाइएको र हामी घाइते हुन पुगेका थियौं ।’त्यस्तोमा सुरक्षा परिषद्को बैठक डाक्न नसकिएको उनको जिकिर छ ।

‘जहाँसम्म मेरो घरबाट रकम जलेको भन्ने सामाजिक सञ्जालमा फैलाइएका अफवाहको सरकार र सम्बन्धित निकायबाट जाँचबुझ भै क्षतीको मुचुल्का समेत भै गएको अवस्था छ,’ उनले जवाफमा लेखेकी छन्, ‘आशंकामा आधारित पूर्वाग्रही आरोपयुक्त रिट निवेदन खारेज गरी पाउँ ।’

प्रकाशित मिति: २६ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com