२३ मंसिर, काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन आयोजना गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् ।

मंगलबार पार्टीले काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन् ।वर्तमान प्रधानमन्त्रीको काँधमा ठूलो राजनीतिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले यो कामको नेतृत्व लिन पनि लिङ्देनले सुझाए ।

‘म वर्तमान प्रधानमन्त्रीलाई यहीँबाट आग्रह गर्न चाहन्छु । तपाईं यत्रो ठूलो रक्तपातपछि प्रधानमन्त्री बन्नुभएको छ । तपाईं मध्यावधि चुनाव गर्नका लागि मात्रै प्रधानमन्त्री बन्नुभएको होइन, तपाईंको काँधमा ऐतिहासिक जिम्मेवारी पनि छ,’ उनले भने, ‘त्यसकारण तपाईं राजा, राजनीतिक दल र जेनजी पुस्ताको एउटा सर्वपक्षीय सम्मेलनको आयोजना गर्नुस् र देशलाई निकास दिने कामको नेतृत्व गर्नुस् । म राजनीतिक दलहरूलाई पनि आग्रह गर्न चाहन्छु ।’देशले अब यो भन्दा ठूलो द्वन्द्व बेहोर्न नसक्ने लिङ्देनको भनाइ छ ।

‘देशले यो भन्दा ठूलो द्वन्द्व बेहोर्न सक्दैन । अब सबै प्रकारका आग्रह, पूर्वाग्रह र अहंकार त्यागेर सम्झौताका लागि तयार हुनुस् । ठूला केही राजनीतिक दलका नेताहरूले मुख खोल्न थाल्नुभएको छ । उहाँहरूलाई पनि भन्छु पार्टीमा औपचारिक निर्णय गर्नुस्,’ उनले भने ।प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा रहने व्यवस्था गरेर अघि बढ्न उनले सुझाए ।‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा रहने व्यवस्था गरेर जाऔं । अब यसको विकल्प छैन,’ लिङ्देनले भने ।

प्रकाशित मिति: २४ मंसिर २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com