२० मङ्सिर चिसो मौसम सुरु भइसकेको छ । चिसोका कारण केही स्वास्थ्य समस्याहरू देखा पर्ने समस्या हुन्छ । मौसम परिवर्तनको समयमा मानिसहरूमा खास गरी रुघाखोकीको समस्या बढी हुने गर्छ । मौसमी रुघाखोकी छिटो फैलिन्छ । त्यसैले हरेक व्यक्तिले चिसोका कारण लाग्न सक्ने रुघाखोकीबाट जोगिनका लागि सावधानी अपनाउन आवश्यक छ । 

रुघाखोकी लाग्न नदिन निम्नानुसार सावधानीका उपाय लागू गर्न सकिन्छ । इन्फ्लुएन्जाको भ्याक्सिन लगाउने, घरबाहिर निस्किँदा मास्क प्रयोग गर्ने, न्यानो कपडा लगाउने, चिसोबाट जोगिने ।अन्य दीर्घरोगका बिरामीलाई पनि चिसोले नराम्रो असर गर्न सक्छ । विशेष गरी मुटु, मिर्गौला, दम तथा क्यान्सर रोगको औषधि सेवन गरिरहेका बिरामीमा चिसोका कारण स्वास्थ्य अवस्था बिग्रन सक्छ । यस्तै, जटिल मानसिक स्वास्थ्य समस्या भएका र अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरूलाई पनि चिसोका कारण अस्वस्थ हुने जोखिम रहन्छ । 

चिसोका बेला नसाहरू साँघुरिने भएकाले हार्ट अट्याक,  स्ट्रोक लगायतका समस्या पनि बढ्न सक्छ । यो समय दमका रोगीहरूलाई पनि अझ गाह्रो हुनसक्छ । यस्तै, श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिन्छ । त्यसैले यस्ता बिरामीले आफ्नो स्वास्थ्यप्रति समयमै सचेत हुनुपर्छ । यस्तै पाँच वर्षभन्दा कम उमेरका बालबालिका र ६५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई पनि चिसोका कारण स्वास्थ्यमा समस्या देखिन सक्छ।  

  • कस्तो अवस्थामा अस्पताल जाने ?

सामान्य मौसमी रुघाखोकी घरेलु उपचारले पनि केही दिनमा आफैँ ठिक हुनसक्छ । तर अत्यधिक ज्वरो आउने, औषधि खाँदा पनि कम नहुने, सास फेर्न गाह्रो हुने, छिटोछिटो सास फेर्ने, सास फेर्दा घाँटीको नसा तन्किएकोजस्तो महसुस हुने, होस हराएको वा लट्ठ भएको, रक्तचाप कम भएको, अक्सिजन लेबल घट्ने लक्षणहरू छन् भने तुरुन्त अस्पताल जानुपर्छ । 

मौसमी रुघाखोकी र अन्य रोगहरूबाट बच्न चिसो र धुलोधुँवाबाट जोगिनुपर्छ । घरबाहिर निस्किँदा रुघाखोकी लागेका व्यक्तिहरूसँग टाढा बस्ने र हात मिलाउने गर्नुहुँदैन । 

कोभिडको समयमा जस्तै व्यक्तिगत सरसफाइमा ध्यान दिने र चिसोबाट जोगिन सकेमा अहिलेको मौसमी रुघाखोकीबाट जोगिन सकिन्छ । 

(डा.ढुङ्गेल नर्भिक अस्पतालमा कन्सलटेन्ट फिजिसियनका रूपमा कार्यरत छन्)

प्रकाशित मिति: २१ मंसिर २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com