१४ मङ्सिर काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले आयात कोटा हटाएपछि चालू आर्थिक वर्षको सुरुवाती महिनामा उच्च दरमा नेपालमा आयात भएको सुपारी जेनजी आन्दोलनपछि घटेको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको चार महिनामा ६१ करोडको सुपारी भित्रिए पनि सुशीला कार्कीको नेतृत्वमा  अन्तरिम सरकार बनेसँगै  आयातको ग्राफ ओरालो लागेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को (साउन–असोजसम्म) मा ६१ करोड ३ लाख ८१ हजार रुपैयाँको ३००८.२१ मेट्रिक टन सुपारी आयात भएको छ । उक्त परिमाणमा सुपारी आयात हुँदा ७६ करोड ८ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।अघिल्लो वर्ष २०८१/८२ को यसै अवधिमा २२ करोड ३५ लाख ५४ हजार रुपैयाँको १७५०.४२ मेट्रिक टन सुपारी आयात भएको थियो । सो अवधिमा सुपारी आयात परिमाण अघिल्लो वर्षको तुलनामा १.७२ गुणाले बढेको देखिन्छ भने मूल्यमा २.७३ गुणाले बढेको देखिन्छ । यसको अर्थ परिमाण बढेको तुलनामा यस वर्ष सुपारीको मूल्य (दर) पनि बढी तिर्नुपरेको देखिन्छ ।

 २०८२ फागुन १ गते ओली सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सुपारी, मरिच र केराउ आयातमा रहँदै आएको कोटा हटाएको थियो । यी वस्तुको आयातमा कोटा हटाउने कि कायमै राख्ने भन्ने विषयमा लामो समयदेखि भइरहेको विवादकै बिच मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशित भएपछि औद्योगिक प्रयोजनका लागि आयात खुला भएको थियो ।

 त्यसअघि बाहिरी मुलुकबाट सुपारी आयात गरी भारततर्फ तस्करी हुने तर नेपालमा उत्पादित सुपारी बिक्री नहुने भएपछि सरकारले २०७६ सालमा सुपारी आयात बन्द गरेको थियो । सुपारीमात्र होइन, केराउ, मरिच र छोकडाको समेत तस्करी बढेको भन्दै २०७६ चैत २४ गते सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ (१) बमोजिम वस्तु आयातमा रोक लगाएको थियो । तर, २०७७ चैत ९ गते पनि तत्कालीन ओली नेतृत्वकै सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर पूर्ण बन्देज हटाइ यी वस्तु आयातको कोटा तोकेको थियो । यसपछि कोटामार्फत आयात हुने गरेको थियो । 

२०८१ पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले फेरि कोटा हटाउने निर्णय गरेपछि २०८१ फागुन १ गते राजपत्रमा सूचना प्रकाशित गरी नयाँ उद्योगले पनि आवश्यक परिमाणमा सुपारी आयात गर्नसक्ने व्यवस्था गरिएको हो ।

गत वर्ष २०८१/८२मा १ अर्ब ४ करोड ४२ लाख ७१ हजार रुपैयाँको ६७८७.८८ मेट्रिक टन सुपारी आयात भएको थियो । सरकारले कोटा हटाएपछि फागुन १ गतेदेखि असार मसान्तसम्ममा ६९ करोड ४२ लाख ६६ हजार रुपैयाँको ३४०२.९२ मेट्रिक टन सुपारी आयात भएको थियो । 

कुनकुन मुलुकबाट हुन्छ आयात

चालु आर्थिक वर्षको चार महिनामा आयात भएको सुपारी इन्डोनेसिया, मलेसिया, कतार, साउदी अरेबिया र युएईबाट आयात  भएको छ । यसमध्ये सबैभन्दा धेरै इन्डोनेसियाबाट ६० करोड २४ लाख ११ हजार रुपैयाँको २ हजार ९५४.२० मेट्रिक टन, मलेसियाबाट ७९ लाख ६७ हजार रुपैयाँको ५४ मेट्रिक टन कतारबाट २ हजार रुपैयाँको ४ किलो साउदी अरेबियाबाट १ हजार रुपैयाँको ३ किलो सुपारी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

कुन महिनामा कति आयात गरियो

ओली सरकार हुँदा (साउन–भदौ) मा आयात उच्च थियो । साउनमा मात्रै २७ करोड रुपैयाँ बिदेसिएको थियो । तर असोजमा ७४७ मेट्रिक टन र कात्तिकमा ३६ मेट्रिक टनमा झर्नुले सुशीला कार्की नेतृत्वको नयाँ सरकार बनेसँगै आयात घटेको देखिन्छ ।   भदौ २३/२४ गते जेनजी आन्दोलन भएको थियो । भने लगत्तै अन्तरिम सरकार बनेको थियो । तथ्यांकअनुसार साउनमा १३६७.२२ मेट्रिक टन आयात भएकोमा कात्तिकमा मात्र ३६ मेट्रिक टन सुपारी आयात भएको छ । यो परिमाणमा करिब १३३१ मेट्रिक टन को कमी हो, जुन प्रतिशतमा हेर्दा ९७.३६ प्रतिशतको गिरावट हो । 

नेपालमा जेजति आयात हुने भएपनि तस्करी भएर भारतसहितका देशमा सो सुपारी जाने गरेको बताइन्छ । तर जेनजी आन्दोलनपछिको अस्थिरता र आयातकर्तामै पनि अन्यौलताका कारण आयात घट्न पुगेको हुनसक्ने सरोकारवाला बताउँछन् ।

चार महिनाको सुपारी आयातको अवस्था

विभागकाअनुसार साउनमा २७ करोड ६४ लाख ६ हजार रुपैयाँको १३६७.२२ मेट्रिक टन सुपारी आयात भएको थियो । उक्त परिमाणमा सुपारी आयात हुँदा ३४ करोड ४९ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । 

भदौमा १९ करोड ४५ लाख २५ हजार रुपैयाँको ८५७.९८ मेट्रिक टन सुपारी आयात भएको थियो । उक्त परिमाणमा सुपारी आयात हुँदा २१ करोड ९१ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

असोजमा १२ करोड ९७ लाख ६१ हजार रुपैयाँको ७४७ मेट्रिक टन सुपारी आयात भएको छ उक्त परिमाणमा सुपारी आयात हुँदा १८ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ  । यस्तै कात्तिकमा ९८ लाख ८६ हजार रुपैयाँको ३६ मेट्रिक टन सुपारी आयात भएको छ । उक्त परिमाणमा सुपारी आयात हुँदा ९३  लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

कति नेपाली उत्पादन  आवश्यकता

सुपारी उत्पादक संघका अनुसार झापामा २७६५ हेक्टर, सुनसरीमा १४० हेक्टर, मोरङमा ९०५ हेक्टर, इलाममा २०७ हेक्टर र उदयपुरमा ३५ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुने गरेको छ । यी जिल्लामा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने संघको तथ्यांक छ । तर, सुपारी के–कति उत्पादन हुन्छ भन्ने विषयमा सरकारी तथ्यांक भने छैन ।

पूर्वअध्यक्ष नरेन्द्रकुमार खड्काका अनुसार ती क्षेत्रमा वार्षिक करिब ५ देखि ६ हजार मेट्रिक टन उत्पादन हुन्छ । तर, संघले भने वार्षिक १५ हजार मेट्रिक टन उत्पादन हुने भनेर गलत तथ्यांक देखाएको उनको दाबी छ ।

नेपालमा भएका गुट्खा फ्याक्ट्रीले करिब वार्षिक ६ देखि ७ हजार मेट्रिक टन सुपारी खपत गर्छन् । अन्य प्रयोजनमा गरी नेपालमा कुल ८ देखि १० हजार मेट्रिक टन सुपारी खपत हुने अनुमान रहेको खड्का बताउँछन् । 

प्रकाशित मिति: १५ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com