१३ मङ्सिर।११औँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै छ । सोहीअनुसार कर्णालीका १० वटै जिल्लामा प्रतिनिधि छनोटको काम सुरु भएको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले रातोपाटीलाई जानकारी दिए । कर्णालीका सबैजसो ठाउँमा प्रतिनिधि छनोट सर्वसम्मत तरिकाले छनोट गर्न लागिएको उनको भनाइ छ  । ‘१० वटै जिल्लामा करिब करिब सर्वसम्मत रूपमा टुंगिने प्रक्रियामा छ,’ उनले भने, ‘अहिले शतप्रतिशत दाबी गर्दा कतै एक जिल्लामा निर्वाचन भइहाल्यो भने अर्को कुरा  होला, तर हाम्रो अनुमान शतप्रतिशत मिल्ने देखिन्छ।’

एकाध जिल्लामा निर्वाचन हुनुलाई अपवाद मान्नुपर्ने र अन्यथा कर्णाली प्रदेश सर्वसम्मत नेतृत्व चयन हुने प्रदेश बन्ने उनको दाबी छ ।अहिलेसम्मको जानकारीअनुसार हुम्लामा ४० वर्षमुनिका युवा र दलित सदस्यबाहेक अन्य सबै पदमा सर्वसम्मत नेतृत्व चयन भइसकेको शाहले बताए । अन्य जिल्लाका कतिपय ठाउँमा पनि आज बिहानै टुंगिएको तर सम्पर्क हुन नसकेकाले रेकर्ड आउन बाँकी रहेको उनको भनाइ छ । 

एमालेको एघारौँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ । जसमा एमाले उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीबिच प्रतिस्पर्धा हुने देखिएको छ। कर्णालीमा यसको सामान्य प्रभाव पर्न सक्ने नेताहरू बताउँछन् ।कर्णालीमा अहिले विद्या कमरेडतिर खासै कोही हुनुहुन्न,’ एक नेता भन्छन्, ‘पहिला वीरेन्द्रनगरको नगरप्रमुख रहेकी मोहनमाया ढकाललगायतका केही नेताहरू हुनुहुन्थ्यो, अहिले संस्थापन लाइनतिरै हुनुहुन्छ ।’ त्यसो हुँदा प्रतिनिधि छनोटमा खासै विवाद हुने वा समस्या आउने सम्भावना नरहेको ती नेताले बताए।

महाधिवेशनमा एमाले कर्णालीले पदाधिकारीमा दाबी गर्ने बताएको छ । यसअघि नै पटक–पटक भएका पार्टीका बैठकहरूमा जसरी भए पनि एघारौँ महाधिवेशनमा पदाधिकारीमा कर्णालीको दाबी रहनुपर्ने नेताहरू बताउँदै आएका छन् ।नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा अहिलेसम्म कर्णालीको सहभागिता हुन सकेको छैन । साङ्गठनिक र जनमतका हिसाबले कर्णालीमा एमाले बलियो भए पनि पार्टीभित्रको राष्ट्रिय राजनीतिमा उपेक्षामा पर्दै आएको छ।

प्रकाशित मिति: १४ मंसिर २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com