बालिका बान्तावा
जीवनलाई अनुभूतिको सुन्दर कलात्मक आँखाले हेर्नु र आख्यानको पानाहरुमा बिम्बात्मक अक्षरहरुले कुँदेर जीवन सौन्दर्यकै अदभूत् स्केच बनाउनु आख्यानकार बालिका बान्तावाको लेखनीको उच्चतम बिशेषता हो।कवि हुँदै उपन्यासकारको रुपमा आफूलाई स्थापित गराएकी बान्तावाको उपन्यास प्याउलीले साहित्य पोष्टले प्रधान गर्ने २०८१ सालको आख्यान पुरस्कार प्राप्त गरेको छ।
इ.सेवारोको निम्ति सम्पादक विशाल नाल्बोले लेखक बालिका बान्तावा सँग साहित्य र जीवन उप्पर रहेर गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गर्दछौँ।
प्रश्न.नदीलाई भेट्न अनेकौं हन्डर खाँदै खोला दगुरे जसरी,सपनालाई पछ्याउदै संघर्षको बाटो भएर जीवनले यहाँ सम्म सफर गरेको अनुभव बारे बताइदिनुहोस् न?
जवाफ.मैले मेरो जीवनको करिब ८०प्रतिशत सफर उपन्यास प्याउली मार्फत बताइसकेको छु। मेरो जीवनको आरोह अवरोहको बयानलाई प्याउली भनेको हुँ मैले। मेरो जीवन प्रति केही कौतुहल यदि भए मेरो पुस्तक पढ्न विनम्र सिफारिस गर्न चाहन्छु म।
प्रश्न.जीवन के रहेछ?अप्ठ्यारो,अप्ठयारो वा सजिलो,सजिलो?
जवाफ.जीवनको परिभाषा नभेटिएरै जीवन बाँचिरहेको छु यतिन्जेल । साच्चिकै के हो जीवन?कहिले थाहा पाउँदो हुँ म?सायद मैले जीवनका बारे थाहा पाउन अझ बाँच्नुपर्ला केही समय । बाँच्नु सकिएपछि पो जीवन थाहा पाइएला जस्तो पनि लाग्छ कहिले काही त । अहिलेसम्म त गीतकार चाँदनी शाहले भनेजस्तो मात्रै लाग्छ,जीवन सोँचेजस्तो हुन्न जीवन,सम्झेजस्तो हुन्न जीवन,जस्तो भोग्यो उस्तै हुन्छ,सम्झेजस्तो हुन्न जीवन।
प्रश्न.हुनु त अक्षरले जीवनको डल्लै परिभाषा बोक्नु सक्दैन तर यतिबेला अक्षरहरुमा जीवनको परिभाषा गर्नु पर्यो भने कसरी गर्नु हुन्छ?

बरिष्ठ लेखक कवि उषा शेरचन र लेखक बान्तावा
जवाफ.यसको जवाफ तपाईंले भनेजस्तै भर्खर डल्लै भनिसकेँ होइन र?हाहाहा।
प्रश्न.तपाई त यौटा लेखक पनि हुनु हुन्छ,एकजना लेखकले जीवनलाई कस्तो दृष्टिकोणले हेर्ने रहेछ?
जवाफ.जीवनमा दुःख छ। दुःखका कारण पनि छ।जीवनमा समस्याहरु छन्। यसका पनि कारणहरु छन् ।जीवनमा सुख पनि छ।सुखका पनि कारण हुन्छ। खुशीहरु हुन्छन् जीवनमा ।यिनका पनि आफ्नै कारण छ।हामी लेखकहरु जीवनलाई मिहिन भएर अनुभुत गरिपठाउने रहेछौं ।अनि यहीँ अनुभूतिहरुलाई लेखनमा कतै न कतै व्यक्त गर्दारहेछौँ ।आम मानिस र लेखकले बाँच्ने तरिका एकै भएपनि जीवनलाई परख गर्ने सवालमा भने फरक हुनेरहेछ । हामी जीवनलाई बोलिदिन्छौँ, आम मानिस यसलाई चुपचाप बाँचिदिन्छन्।
प्रश्न.तपाई कथा,कविता अथवा उपन्यास लेखिरहँदा जीवनलाई कति पर वा नजिक राखेर लेख्नु हुन्छ?
जवाफ.जीवनभन्दा पर कतै गएर लेख्नै सक्दिनँ म । मसँङ्ग सिमित ज्ञान,अनुभव र अभिव्यक्ति भएर होला, जीवनभन्दा धेरै टाढा जानै सक्दिन । त्यसैले मेरा हरेक सिर्जनाका वरिपरि जीवनका अनुभूतिहरु भेटिन्छन्।
प्रश्न.हालसालै प्याउली उपन्यास पाठक सामुन्ने ल्याउनु भो,उपन्यास पढेर कुनै पाठकले सम्झना योग्य प्रतिकृया(मेसेज)दिएको स्मरण गर्नुहोस् न,कस्ता थिए?
जवाफ.धेरैले, धेरै प्रकारका प्रतिक्रियाहरु दिनुभएको छ । यो क्रम अझै निरन्तर छ । तर पाठकहरुले दिनुभएको प्रतिक्रियालाई म विशेष र सामान्य, सम्झना योग्य वा अयोग्य भन्ने पक्षमा छैन । किनभने हरेक पाठक मेरा लागि समान हुनुहुन्छ ।यति यो ज जसले पुस्तक पढेर प्रतिक्रिया दिनुभयो, त्यसले मलाई अर्को पुस्तक लेख्नका लागि उर्जा, रिचार्ज गर्नुभएको छ ।प्याउली उपन्यासका पाठकहरु प्रति नतमस्तक छु म।
प्रश्न.लेखकहरु एककिसिमले बिलासी जीवन जिउन मनपराउँछ,भन्छन् यसमानेमा तपाई सहमत कि असमत?
जवाफ.यसमा लेखक भन्दा पनि, मान्छेको स्वभाव जोडिएर आउँछ जस्तो लाग्छ।उसले बाँचिआएको जीवनका बाटाहरु कस्ता थिए, त्यसले फरक पार्दो हो । त्यसैले लेखक, कलाकार वा कुनै पनि क्षेत्रकाहरु यस्ता हुन्छन् भनेर सामान्यिकरण गर्न हुँदैन पो कि जस्तो लाग्छ । अब मेरो बारेमा भन्नुहुन्छ भने, म अलिकति फुर्मासु टाइपकै छु ।किनभने मेरो बाल्यकाल त्यसरी नै बित्यो ।बडो लाडप्यारले हुर्किएको मलाई,परिवारले मेरो हुर्काइमा केहीको कमी हुन दिनुभएन । पछि आम्दानी गर्नुपर्ने भूमिकामा आफै होमिनुपर्यो ।कमाउन थालेपछि खर्च गर्ने कुरा भइहाल्यो । पैसा चलाउने कुरा हो, आफुले कमाएको आफैले मात्रै खर्च गर्नुपर्छ भन्ने कहिले भएन मलाई । परिवार, साथीसङ्गी, समाज सबैप्रती समानुभूती राखेपछि थोरबहुत खर्च हुन्छ । मेरो स्वभावअनुसार अलि बेसि नै हुन्छ । एकदिन मरेर जाने जुनी हो भन्ने लाग्छ मलाई चाहिँ । तर मेरो जस्तो सोँच र ब्याबहारले फेरि पनि अतिरिक्त दुःख चाहिँ मिल्छ ।आफैले सिर्जना गरेको दुःखहरुमा खुसी खुसीले दुख्ने हो भाइ हाहाहा।
प्रश्न.तपाईको नामलाई साहित्यलेखनले प्रतिष्टा सहित स्थापित गरायो,तर लेखिरहँदा जीवनको महत्वपुर्ण पल पनि त कुनै बेला कतै छुटे होला नि?

गायिका सुनिता थेगिम र लेखक बान्तावा
जवाफ.जीवनबाट छुटेकै पलहरु लेखेको हुँ मैले । मेरो आफ्नै स्वभावले गर्दा जीवनका गहिरा दुःखहरुमा भासिएँ । सुखका अग्ला उचाइमा पनि उग्लिएँ हुँला । नदी वा समुन्द्रमा बगेँ हुँला । अघि तपाईंले सोध्नुभएको जीवन भनेको यस्तै यस्तै त होला । यसरी आफैबाट छुटिगएका सबै पलहरुलाई महत्वले हेरिनुपर्छ कि सबैलाई सामान्य लिनुपर्छ भन्ने लाग्छ मलाई । समग्रमा जिन्दगी जिन्दावाद हो भाइ हाहाहा।
प्रश्न.तपाई साहित्य आफ्नो लागि लेख्नु हुन्छ कि?अरुको लागि?
जवाफ.आफ्नै लागि लेख्छु । तर यो आफ्नै लागि लेख्दा पनि त धेरैका लागि हुनेरहेछ । आफ्नै लागि भनेर लेख्दा पनि त अरुले रिलेट गर्दारहेछन् नि । लेखनको विशेषता वा तागत यहीँ होला सायद ।

कलाकार अनुशा राईको हातमा प्याउली
प्रश्न.तपाइलार्ई लागिरहेछ (लेख्छु,लेख्छु)तर तपाई लेखिरहनु सक्नु भएको छैन,यस्तो पीडाबोध कुनै बेला भएको छ?
जवाफ.धेरै भएको छ । जस्तो प्याउलीू लेख्नुअघि त्यस्तै भएको थियो मलाई । करिब बर्ष दिन यो छट्पटी र दोधारमा गुज्रिएँ म । अन्तिममा लेख्नुपर्छ भन्यो मेरो अन्तरमनले । प्याउली लेखिसकेपछि चैनको श्वास फेरेको थिएँ।
प्रश्न.तपाई खुसी हुँदा कसलाई सम्झिनु हुन्छ?र दुःख पर्दा कसलाई बिर्सिनु हुन्छ?
जवाफ.खै कसलाई सम्झन्छु र कसलाई बिर्सन्छु र यसरी सम्झदै बिर्सदै बाँच्न छाडेको पनि थुप्रै भएछ पो भाइ । सायद खुसीमा आफ्नालाई सम्झन चाहान्छु । दुःखमा एकान्त बिर्सन चाहन्छु । तर मेरो भागमा यी दुबै उपलब्ध छैनन् त।

कवि कलाकार बीच काठमडौंमा प्याउलीको बिमोचन
प्रश्न.वास्तबमा जीवन भनेको दुःखहरुको शृङ्खला पनि हो,र हो आँशुहरुको तमोर नदी,कुनै बेला जीवनले अत्याधिक घात,अघातहरु दिईरहँदा तपाई साथीहरु सँग रुनु हुन्छ कि एक्लै?
जवाफ.मेरो आँशुको बाछिटाले अरूलाई नभिजावस लाग्छ अनि एक्लै रुन्छु । त्यो पनि बाथरुममा भिज्दै धित मरुन्जेल रुन्छु । मेन्टल थेरापीको काम गर्छ यसरी रुँदा । एकपटक यसरी रुने कोसिस गर्नु विशाल भाइ हाहा।
प्रश्न.भीडहरु एकदमै निर्दयी हुन्छन्,तपाई त संसारकै धेर मानिसहरु आवत जावत गर्ने सहर हङकङमा हुनु हुन्छ,भीडहरु बीच आफूलाई कतिको एक्लो महशूस गर्नु भएको छ?
जवाफ.अक्सर मान्छेहरू भिडहरुमै एक्लो हुन्छन् । मान्छे त्यो बेला एक्लो हुन्छ जतिखेर ऊ आफ्नो मनसङ्ग सम्बाद गर्न पाउँदैन । भिडमा त भिडसङ्ग सम्वाद गर्नुपर्छ । बाहिरबाट हेर्दा भिडमा ब्यस्त देखिए पनि मान्छे आफैसङ्ग सम्वाद गर्न पाइरहेका हुँदैनन् । एकान्त, जहाँ हर कोही मान्छे आफ्नै मनसङ्ग सम्वाद गर्छन् । सम्झनाहरुको भिडभित्र हराउँदै जान्छ । एकान्तमा हुने भिड डरलाग्दो पनि हुन्छ । यो भिडबाट बाहिर निस्कन सकेन भने मानिस अर्कै बाटोमा जाने डर हुन्छ । त्यसैले मानिसको जीवनमा एकान्त भिड दुबै जरुरी छ।

सम्भव समूह सँग लेखक बान्तावा
प्रश्न.अन्त्यमा प्रेम बारे यौटा प्रश्न,तपाई प्रेममा सफल कि असफल?
जवाफ. प्रेम हुँदा सफल, धोका हुँदा असफल होला नि भाइ । जीवनमा यी दुबै भएको छ ।सफल कि असफल भन्नु ? गार्हो पर्यो।

प्याउली
बालिका बान्तावाका कविता
मेरी आमा
बैँश फुल्नै नपाई
गृहस्थीले गाजेपछि
बचपनमै सेतै फुलिगए तिम्रा केशराशी
तिम्रो चोलीको तुनामा झुण्डिएका
राकुबुङ,छेनबुङ र बाबरीको बास्ना
नाकमा अझै मगमगाइरहेको छ
त्यो तिम्रो पसिनाले भिजेको चोलिबाट आउने बास्ना छ नि
त्यहाँ त तिम्रो प्रेमको सुगन्धसमेत मिसिएर आउथे
त्यसलाई अहिलेका यी आधुनिक अत्तरहरूले कहाँ भेट्नु र?
अझै पनि झलझली आईरहन्छ तिम्रो प्रतिबिम्ब
सिकुवामा बसेर तिमीले गाउने एउटा गीत थियो नि
जो बारम्बार ठोकिन्छ कानैमा।
ए नि लै ले फूल फुल्यो बुकी , फूल फूल्यो बुकी
संसारमा छैन नि म जस्तो दुःखी।
अहिले सम्झन्छु
तिम्रो पनि रहरहरू कति थिए होलान्
तर तिमी त स्वचालित यन्त्रझैं
घरधन्दा र बर्सेनि सन्तान जन्माउने मात्रै गरिरह्यो
पुरूष हुनुको आडम्बरले
बाबाले कहिले सोधेनन्
तिम्रा रहरहरू, तिम्रा चाहनाहरू
कहिले बुझेनन् तिम्रा भावनाहरू
तर पनि तिमीले निभाईरह्यो निरन्तर
स्वास्नी हुनुको अर्थ
आमा हुनुको दायित्व
तिमी बाचुन्जेल तिमीलाई कहिले खुशी र सुखी देख्न पाईनँ मैले
कहिलेकाही तिम्रो आँखाभरी आँशुका ढिक्काहरू देख्थे बरु
थाहा छैन
यसबेला ताराहरुको घरमा तिमी खुसी या दुःखी छौ कुन्निरु
सोचेकी थिए
एकदिन तिमीलाई खुसी दिनेछु
तर तिमीलाई दिन्छु भनेको त्यो खुसी
मेरो हातमा आइपुग्दा तिमी थिएनौं
तिमी त माथि माथि ताराहरूको घरमा पुगिसकेकी थियौ
आमा,खै तिमी अभागी हो कि म?
या हामी दुबै अभागी हौं?
मलाई माफ गर्नू आमा
हिजोआज जब जब रात पर्छ
म तिमीलाई आकाशमा हेर्छु
र मैले तिम्रा लागि भनेर सोचेका खुसीहरु
भुइँमै बसेर एक्लै गनिरहन्छु,एक्लै गनिरहन्छु।
प्रकाशित मिति: ९ कार्तिक २०८२, शनिबार

प्रतिक्रिया